बर्दिया । “सुरक्षा निकायमा जागिर खान पहुँच र पैसा चाहिन्छ” भन्ने आम भाष्यलाई बर्दियाका धिराजन परियारले आफ्नो मेहनत, अनुशासन र दृढ इच्छाशक्तिबाट चुनौती दिएका छन्।

बासगढी नगरपालिका–३ का परियार सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हुन्। सुरुवाती दिनमा आफू उत्कृष्ट विद्यार्थी नभए पनि निरन्तर मेहनत, नियमित अध्ययन र कठोर तयारीलाई निरन्तरता दिँदै उनले विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन्।
परियारले नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सिफारिस क्रम संख्या ४, नेपाली सेनाको सहायक सेनानी, सशस्त्र प्रहरी बलको इन्स्पेक्टर, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदमा सफलता हासिल गरेका हुन्।
एउटै व्यक्तिले देशका प्रमुख सुरक्षा निकाय तथा अनुसन्धान क्षेत्रमा विभिन्न पाँच पदमा सफलता हासिल गरेपछि उनको उपलब्धि अहिले चर्चा र प्रेरणाको विषय बनेको छ।
सामान्य परिवेशबाट सुरु भएको उनको यात्राले सफलता हासिल गर्न पहुँच वा आर्थिक प्रभावभन्दा पनि निरन्तर मेहनत, सही तयारी, अनुशासन र आत्मविश्वास महत्वपूर्ण हुने सन्देश दिएको छ।
धिराजनको सफलताले लोकसेवा तथा सुरक्षा निकायमा भविष्य खोजिरहेका हजारौँ युवालाई मेहनत र लगनशीलताबाट आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने नयाँ आशा र हौसला दिएको छ।


