Lucky-Khabar_

सिमरा घटना | आरोपीको भिडियो बाहिरिएको प्रकरणमा प्रहरी हवल्दार पक्राउ

बारा । सिमरामा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरसँग अनुसन्धानका क्रममा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा प्रहरी हवल्दार पक्राउ परेका छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै मातहत कार्यरत प्रहरी हवल्दार कुमार विकलाई भिडियो बाहिरिएको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा रेकर्ड गरिएको सो भिडियो हवल्दार विकले आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएका थिए। त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार भिडियो सार्वजनिक भएको विषयमा गोपनीयताको अधिकार हननसम्बन्धी कसुरमा विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

सिमरा घटनामा पक्राउ परेका १६ वर्षीय किशोरसँग अनुसन्धानका क्रममा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया तथा आरोपितको गोपनीयतामाथि प्रश्न उठेको थियो।

अनुसन्धानकै क्रममा रहेको संवेदनशील घटनासँग सम्बन्धित बयान तथा भिडियो सार्वजनिक हुनु कानुनी र नैतिक दुवै दृष्टिले गम्भीर विषय मानिन्छ। आरोप प्रमाणित नभएसम्म कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत नगर्नु तथा पीडित र आरोपित दुवैको गोपनीयता र मर्यादा कायम राख्नु आवश्यक हुन्छ।

प्रहरी कर्मचारी नै अनुसन्धानका संवेदनशील सामग्री बाहिरिएको आरोपमा पक्राउ परेपछि भिडियो कसरी बाहिरियो र घटनामा अन्य को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर