चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुट्ने क्रम जारी छ। बाढीका कारण कतिपय परिवार घरबारविहीन भएका छन् भने कतिले आफन्त गुमाएका छन्। प्रभावित परिवारहरू अझै पनि आधारभूत आवश्यकताको अभावमा छन्।

यही अवस्थालाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका–५ टाइगरचोकस्थित टाइगरचोक एकता आमा समूहले हरितालिका तीजका लागि छुट्याइएको खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३० हजार सहयोग गरेको छ।

सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको समूहले यस वर्ष तीजको कार्यक्रमलाई भन्दा विपत्तिमा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिएको हो |समूहकी अध्यक्ष जुना सापकोटाले देश नै विपत्तिमा रहेका बेला चाडपर्वका नाममा रमझम गर्नुभन्दा दुःखमा परेका नागरिकको साथमा उभिनु आवश्यक रहेको बताइन्।

“देशै रोइरहेको छ, हामीले तीज मनाएर के फाइदा ? रंगरमाइलो गरेर के फाइदा ? कतिका घरबार उडेका छन्, कतिले आफ्ना आफन्त गुमाएका छन्, कतिले खानसमेत पाएका छैनन्। यस्तो अवस्थामा हामी आफ्नो खुसीमा मात्रै रमाउन सक्दैनौँ,” उनले भनिन्।
तीजका लागि छुट्याइएको रकममा कटौती गरी विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने निर्णय गरिएको सापकोटाले बताइन्।

“चाडपर्व हरेक वर्ष आउँछ, तर अहिले विपत्तिमा परेकाहरूको पीडा तत्कालको हो। यस्तो अवस्थामा आफ्नो खुसीभन्दा पीडितको दुःखलाई प्राथमिकता दिनुपर्छ भन्ने लागेर सहयोग गरेका हौँ। दुःखमा परेकालाई सक्दो सहयोग गर्नु नै अहिलेको ठूलो धर्म हो,” उनले भनिन्।सापकोटाले समूहको यो सानो प्रयासले अन्य व्यक्ति, समूह तथा संघसंस्थालाई समेत चाडपर्वका लागि छुट्याइएको खर्चबाट केही रकम विपत्तिमा परेका नागरिकका लागि सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

टाइगरचोक एकता आमा समूहले पछिल्लो समय विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। बाढी प्रभावित नागरिकका लागि गरिएको यो सहयोगले चाडपर्वको खुसीसँगै विपत्तिमा परेकाको पीडालाई पनि सम्झिनुपर्ने मानवीय सन्देश दिएको छ।


