वीरगन्ज । रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले वीरगन्जका युवाहरूले राहत संकलन अभियान सुरु गरेका छन्।

वीरगन्ज महानगरपालिका–८ निवासी विश्वास साहको पहलमा युवाहरूको समूहले दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू संकलन गरिरहेको हो। संकलित सामग्रीहरू हिजोदेखि वीरगन्जको माईस्थान मन्दिर प्राङ्गणमा जम्मा गरिँदै आएको छ।
बाढीपीडितलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा दैनिक प्रयोगमा आउने अन्य सामग्री सहयोगस्वरूप संकलन भइरहेको समूहले जनाएको छ।
अभियानमा सहभागी युवाहरूले इच्छुक व्यक्ति, संघ–संस्था तथा समाजसेवीहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गरी मानवीय अभियानमा साथ दिन अपिल गरेका छन्।
समूहले संकलित सहयोग सामग्री रसुवाका बाढीपीडित परिवारसम्म पुर्याउने जनाएको छ।


