सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विद्यालयमा सरसफाइ गराउने विषयलाई लिएर विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको भनिएको घटनाबारे विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको थियो। सोही क्रममा प्रधानाध्यापक झामाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कुटपिटबाट प्रधानाध्यापक झा सामान्य घाइते भएका छन्। उनको सवारीसाधनसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कापडको संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा उनीहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको उल्लेख छ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सम्बन्धमा समेत प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भिडियोमा देखिएको घटनाको वास्तविकता र त्यसको पृष्ठभूमिबारे आवश्यक अनुसन्धान भइरहेको तथा अनुसन्धानपछि घटनाको यथार्थ विवरण खुल्ने प्रहरीले जनाएको छ।


