रौतहट । रौतहटको राजपुर नगरपालिका–५ राजपुर निवासी तथा पूर्व संघीय सांसद किरण कुमार साहका बुवा एवं नेपाली कांग्रेस रौतहटका भूतपूर्व जिल्ला उपसभापति हजारी साह आफ्नै पुरानो घरमा मृत अवस्थामा फेला परेका छन्।

बुधबार बिहान साह आफ्नै पुरानो घरमा मृत अवस्थामा फेला परेका हुन्। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण, मुचुल्का तथा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। मृत्युको कारणबारे अहिलेसम्म आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि मात्रै घटनाको यथार्थ कारण खुल्ने प्रहरीले जनाएको छ।
हजारी साह रौतहटको राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँ लामो समयदेखि जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो।
उहाँको निधनको खबरले स्थानीयवासी, राजनीतिक दलका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा शोक छाएको छ। विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तिहरूले साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
प्रहरीले घटनाका सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान जारी राखेको जनाएको छ। घटनाको थप आधिकारिक विवरण आउन बाँकी रहेको छ।


