Lucky-Khabar_

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

वीरगञ्ज ।वीरगञ्ज महानगर कमिटीको अध्यक्ष चयनसम्बन्धी विवाद स्थानीय तथा जिल्ला तहमै समाधान गर्न नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन्। पार्टीभित्रका स्थानीय समस्या समाधानमा माथिल्लो तहबाट अनावश्यक हस्तक्षेप नगर्नसमेत उनले आग्रह गरेका छन्।

content ad p2

वर्दिवासमा मंगलबार आयोजित मधेस प्रदेशस्तरीय ‘मिशन पार्टी जागरण अभियान’का केन्द्रीय प्रतिनिधिहरूको समीक्षा बैठकमा महासचिव पोखरेलले स्थानीय तहमा उत्पन्न समस्या सम्बन्धित तहबाटै समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा वीरगञ्ज महानगर कमिटीको अध्यक्ष मनोनयनलाई लिएर देखिएको विवादबारे पनि छलफल भएको थियो। पोखरेलले स्थानीय तहमा देखिएका समस्या सम्बन्धित जिल्ला कमिटीसँगको समन्वयमा जिल्ला तहमै समाधान गर्न निर्देशन दिएको बताइएको छ।

समीक्षा बैठकमा मधेस प्रदेशका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा विभिन्न जिल्ला कमिटीका अध्यक्षहरूको सहभागिता थियो।

‘सुन्दर कुर्मीको नियुक्ति बदर भएको विषय निराधार’ : हजरा

यसैबीच, वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा सुन्दर प्रसाद कुर्मीलाई गरिएको नियुक्ति बदर भएको भन्ने सूचना निराधार रहेको एमालेका केन्द्रीय सदस्य तथा नेता प्रभु हजराले दाबी गरेका छन्।

हजराका अनुसार एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्वमेयर विजय सरावगीले गलत विज्ञप्ति तयार गरी आफ्ना तर्फबाट पिन्टु उपाध्यायमार्फत सञ्चारमाध्यम तथा विभिन्न स्थानमा पठाएका हुन्। उक्त विज्ञप्तिमा कुर्मीलाई महानगर कमिटीको अध्यक्ष पदबाट हटाइएको उल्लेख गरिएको उनको दाबी छ।

सरावगीको गतिविधिले पार्टीको प्रतिष्ठामा आँच पुगेको आरोप लगाउँदै हजराले उनीमाथि पार्टीले कारबाही गर्ने दाबीसमेत गरेका छन्।

हजराले सरावगीले पार्टीभित्र विवाद र अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउँदै एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ जाने योजनाअनुसार विवाद बढाउन खोजिरहेको दाबीसमेत गरेका छन्।

सरावगी भन्छन्– ‘प्राप्त विज्ञप्तिका आधारमा सूचना पठाइएको हो’

हजराको आरोपबारे प्रतिक्रिया दिँदै सरावगीले भने आफूले कुर्मीलाई अध्यक्ष पदबाट हटाइएको भन्ने विज्ञप्ति प्राप्त गरेको र सोही आधारमा पिन्टु उपाध्यायमार्फत उक्त सूचना विभिन्न स्थानमा पठाएको बताएका छन्।

उनले आफूले स्वतः कुनै निर्णय गरेर विज्ञप्ति तयार नगरेको दाबी गर्दै आफूलाई प्राप्त भएको पत्रकै आधारमा सूचना प्रवाह गरिएको स्पष्ट पारे।

अध्यक्ष चयनलाई लिएर फरक–फरक दाबी

वीरगञ्ज महानगर कमिटीको अध्यक्ष चयन तथा पदपूर्तिको विषयलाई लिएर एमालेभित्र पछिल्लो समय फरक–फरक निर्णय र दाबी सार्वजनिक हुँदै आएका छन्।

सरावगी पक्षले यसअघि एमाले मधेस प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीलाई पत्र पठाउँदै सुन्दर कुर्मीको नियुक्ति विधानविपरीत भएकाले बदर गरिएको दाबी गरेको थियो।

उक्त पत्रमा पार्टी विधानको धारा ६८ अनुसार अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी वा सदस्यको पद रिक्त भएमा सोही कमिटीले पदपूर्ति गर्ने व्यवस्था रहेको उल्लेख गर्दै जिल्ला तहबाट गरिएको मनोनयन वैधानिक नहुने तर्क गरिएको थियो।

सोही पत्रका आधारमा महानगर कमिटीको बैठकले अध्यक्षमा लियाकत अलि, उपाध्यक्षमा सञ्जीवबहादुर छत्कुली र सचिवमा जलन्धर कुर्मी चयन गरेको तथा प्रदेश कमिटीले त्यसलाई अनुमोदन गरेको दाबीसमेत सार्वजनिक भएको थियो।

यता, एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठकको निर्णयअनुसार जिल्ला कमिटीको लेटरहेडमा सुन्दर प्रसाद कुर्मीलाई वीरगञ्ज महानगर कमिटीको अध्यक्ष नियुक्त गरिएको पत्रसमेत सार्वजनिक भएको छ। उक्त पत्रमा जिल्ला अध्यक्ष डा. विश्वम्भर प्रसाद शर्माको हस्ताक्षर रहेको उल्लेख छ।

विवाद अझै टुंगिएन

परस्पर विरोधी पत्र, विज्ञप्ति र निर्णयका दाबी सार्वजनिक भएपछि वीरगञ्ज महानगर कमिटीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा एमालेभित्रको विवाद थप चर्किएको छ।

एक पक्षले सुन्दर कुर्मीको नियुक्ति बदरसम्बन्धी सूचना नै गलत भएको दाबी गरिरहेको छ भने अर्को पक्षले आफूहरूले प्राप्त गरेको पत्र तथा विज्ञप्तिका आधारमा सूचना सार्वजनिक गरिएको बताउँदै आएको छ।

महासचिव पोखरेलले विवाद स्थानीय तथा जिल्ला तहमै समाधान गर्न निर्देशन दिए पनि वीरगञ्ज महानगर कमिटीको अध्यक्ष पदमा अन्तिम रूपमा कसको नेतृत्व मान्य हुने भन्नेबारे सम्बन्धित आधिकारिक निकायबाट स्पष्ट निर्णय तथा औपचारिक स्पष्टीकरण आउन बाँकी रहेको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर