Lucky-Khabar_

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि धारिलो हतियार प्रहार भएको छ। घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरे पनि प्रहरीले मुद्दा अघि बढाउनुको सट्टा मेलमिलापका लागि दबाब दिएको आरोप लगाएको छ।

content ad p2

आइतबार राति करिब ९ः३० बजेतिर माछा पालन फर्ममा कार्यरत दिपेश पासवानमाथि छुरा प्रहार भएको बताइएको छ। स्थानीयका अनुसार रामपुर टोलका २/३ जना युवाले पासवानमाथि धारिलो हतियार प्रहार गरेका थिए।छुरा प्रहारबाट घाइते पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको र घर फर्किएको जनाइएको छ।

घटना भएको स्थान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) रामपुर खापबाट करिब १५० मिटरको दूरीमा रहेको स्थानीयले बताएका छन्। बीओपी नजिकै घटना भए पनि सुरक्षाकर्मीले घटनाबारे जानकारी नभएको बताएको पीडित पक्षको दाबी छ।घटनापछि पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै रामपुर खापस्थित प्रहरी चौकीमा लिखित निवेदन दिएको जनाएको छ। तर, आफूहरूले कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्दा प्रहरीले मेलमिलाप गर्न दबाब दिएको पीडित पक्षको आरोप छ।

यसैबीच, स्थानीय बासिन्दाले रामपुर खाप क्षेत्रमा केही युवाहरू लागूऔषध सेवन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। विगतमा पनि उक्त क्षेत्रमा आपराधिक गतिविधि हुने गरेको स्थानीयको दाबी छ। स्थानीयका अनुसार गत निर्वाचनका क्रममा दुईवटा मोटरसाइकलमा आगजनी भएको घटनामा समेत सोही समूहका युवाहरूको संलग्नता रहेको आरोप छ।विगतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही हुन नसक्दा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको मनोबल बढेको स्थानीयको गुनासो छ। पछिल्लो घटनाले रामपुर खाप क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार रातको समयमा मात्र नभई दिनको समयमा समेत सर्वसाधारणलाई सहज रूपमा आवतजावत गर्न कठिन हुने अवस्था देखिएको छ। सुरक्षा निकायको पहुँच नजिकै हिंसात्मक घटना हुनु र त्यसपछि मेलमिलाप गराउन खोजिएको आरोप सार्वजनिक भएपछि स्थानीयले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।पीडितमाथि आक्रमणमा संलग्न भनिएका व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्नुपर्ने स्थानीयको माग छ। साथै, घटना भएको समयमा सुरक्षाकर्मीको भूमिका, घटनाबारे सूचना पाएपछि चालिएको कदम तथा पीडित पक्षलाई मेलमिलापका लागि दबाब दिइएको भनिएको विषयमा समेत छानबिन हुनुपर्ने उनीहरूको माग छ।

घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि प्रहरीले हालसम्म के कारबाही गरेको छ भन्नेबारे सम्बन्धित प्रहरी कार्यालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन। त्यस्तै, पीडित पक्षले लगाएको मेलमिलापका लागि दबाब दिएको आरोपबारे पनि प्रहरीको प्रतिक्रिया आउन बाँकी छ।स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा रामपुर खाप क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर