काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले विपद्का बेला नागरिकको पीडा र आक्रोशलाई गलत रूपमा व्याख्या गर्ने तथा सामाजिक सञ्जालको आडमा गैरजिम्मेवार अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए।
रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी वा साइबर बुलिङमा संलग्न भएको पाइएमा साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिने उनले स्पष्ट पारे।
‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ लामिछानेले भने।
उनले विपद्का बेला नागरिकको पीडा र आक्रोशलाई संवेदनशील रूपमा बुझ्नुपर्नेमा जोड दिँदै गैरजिम्मेवार अभिव्यक्ति दिने पार्टी सदस्य तथा पदाधिकारीमाथि कडा कारबाही गरिने बताए।


