वीरगञ्ज । पाँच वर्षअघि १२ वर्षीया बालिकालाई अपहरण गरी लगातार १० दिनसम्म पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा दोषी ठहर भई फरार रहेका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैयामा बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन्।

बारा प्रहरीका अनुसार अन्सारीलाई बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजारबाट पक्राउ गरिएको हो। बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
प्रहरी प्रतिवेदनअनुसार अन्सारीले २०७८ माघ १० गते बालिकालाई ललाईफकाई तथा डरत्रास देखाएर अपहरण गरी लगेका थिए। उनले बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर जबरजस्ती करणी गरेको र सोही दिन बसमा चढाएर काठमाडौँको वनस्थली पुर्याई कोठामा राखेर पटक–पटक जबरजस्ती करणी गरेको अभियोग लागेको थियो।
घरपरिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो। त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतले बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी कसुरमा उनलाई दोषी ठहर गरेको हो।
अदालतले अन्सारीलाई ६ लाख रुपैयाँ जरिवाना तिर्न तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको थियो।पक्राउ परेका अन्सारीलाई अदालतको आदेशअनुसार कारागार कार्यालय वीरगञ्ज, पर्सामा पठाइएको प्रहरीले जनाएको छ।


