विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगर महानगरपालिका–६ मा दुई पक्षबीच कुटाकुट भएको छ। घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो केसलियास्थित भलबद्र सेवा समितिको सभाहलमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला दुई पक्षबीच विवाद भएपछि कुटाकुट भएको हो।घटनापछि प्रहरीले मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ निवासी इरसाद अहमदलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

कुटाकुटका कारण केही समय मतदान प्रक्रिया रोकिएको थियो। स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको प्रहरीले जनाएको छ।
वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो। वडा सभापतिका लागि राम ढकाल र प्रकाश मण्डल–भोला समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्।

यता, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।विराटनगर महानगरपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसको वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया जारी रहेको छ।


