रौतहट । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट खोलामा हाम फालेका एक युवक बेपत्ता भएका छन्।बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव रहेका छन्।

शुक्रबार दिउँसो उपचारका लागि दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा बसेर रौतहटतर्फ जाँदै गरेका सचिन्द्र लालबकैया पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट ओर्लिएर खोलामा हाम फालेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन्।बेपत्ता यादवको खोजीका लागि इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना प्रहरी परिचालन गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित सात जनाको टोलीले पनि खोलामा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
प्रहरीका अनुसार बेपत्ता युवकको मानसिक अवस्था ठीक नभएको उनका दाइले बताएका छन्। पुलमा पुगेपछि सचिन्द्र अचानक मोटरसाइकलबाट ओर्लिएर खोलामा हाम फालेको उनका दाइले प्रहरीलाई जानकारी गराएका छन्।प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेको छ।


