रक्सौल । भारतको रक्सौलमा रेल गुमटीका कारण हुने सवारी जाम न्यूनीकरण गर्न करिब १५६ करोड रुपैयाँको लागतमा दुईवटा रेल ओभरब्रिज निर्माण हुने भएका छन्। दुवै ओभरब्रिज सन् २०२८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रक्सौलको बाटा चौकस्थित गुमटी र परेउआ रेलवे फाटकमा ओभरब्रिज निर्माण गर्न लागिएको हो। यी दुवै स्थानमा रेल गुड्दा फाटक बन्द हुने भएकाले दैनिकजसो सवारीसाधनको लामो जाम हुने गरेको छ।
भारत–नेपाल व्यापारको प्रमुख नाकाका रूपमा रहेको रक्सौलबाट दैनिक ठूलो संख्यामा मालवाहक ट्रक, व्यावसायिक तथा निजी सवारी नेपालतर्फ आवतजावत गर्छन्। रेल गुमटीमा हुने जामका कारण यात्रु तथा मालवाहक सवारीको आवागमनसँगै व्यापारिक ढुवानीसमेत प्रभावित हुँदै आएको छ।

ओभरब्रिज निर्माणपछि रेल आवागमनका क्रममा फाटक बन्द गर्नुपर्ने अवस्था अन्त्य हुने र रक्सौल–वीरगञ्जबीचको यातायात तथा व्यापारिक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
निर्माण अवधिमा भने रक्सौलको यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। ठूला मालवाहक सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने, चरणबद्ध रूपमा निर्माण गर्ने तथा आवश्यक स्थानमा एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
वर्षौंदेखि रक्सौलको प्रमुख समस्याका रूपमा रहेको रेल गुमटीको जाम समाधानका लागि प्रस्तावित दुवै ओभरब्रिज समयमै निर्माण सम्पन्न भए स्थानीय बासिन्दा, व्यवसायी, यात्रु तथा भारत–नेपाल व्यापारिक आवागमनमा उल्लेख्य सहजता आउने अपेक्षा गरिएको छ।
तस्वीर एआईबाट तयार


