वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ निवासी बिनय कुमार गोढले भ्रष्टाचारविरुद्ध उजुरी दिएपछि आफू र आफ्ना बुवा राम अशिष प्रसाद गोढलाई धम्की दिइएको तथा झुटा मुद्दामा फसाउने प्रयास भएको आरोप लगाएका छन्।

आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै गोढले नापी कार्यालय र मालपोत कार्यालय पोखरियाका कर्मचारीको मिलेमतोमा नियमविपरीत जग्गाको कित्ताकाट गरिएको आरोप लगाए। यस विषयमा आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा उजुरी दिएको उनले बताए।
उनका अनुसार उजुरीमा नापी कार्यालयका प्रमुख बब्लु पाण्डे, सर्भेक्षक उमेश प्रसाद साह तेली, अमिन सन्तोष कुमार गुप्ता तथा मालपोत कार्यालयका नायब सुब्बा रामजी प्रसाद साह र रामरेखा प्रसाद चौरसियाको भूमिकाबारे प्रश्न उठाइएको छ।
गोढले २०८३ असोज १३ गते उजुरीसम्बन्धी पत्र प्राप्त भएपछि सोही दिन दिउँसो करिब २ बजे आफ्ना बुवालाई फोन गरेर कार्यालयमा बोलाइएको र त्यहाँ अभद्र व्यवहार, हातपात तथा धम्की दिइएको आरोप लगाए। उजुरी फिर्ता लिन दबाब दिँदै आफूहरूलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको उनको दाबी छ।
बाटो नभएको कृषि जग्गामा कित्ताकाट गरिएको दाबी
गोढका अनुसार तत्कालीन हरिहरपुर बिर्ता गाविस–१ स्थित सिट नम्बर १९३०१७८, कित्ता नम्बर १२२४ को २७०.८८ वर्गमिटर जग्गाको कित्ताकाट प्रक्रियामा अनियमितता भएको छ। उर्मिला देवी कुर्मीनको नामबाट राजीनामामार्फत कित्ताकाट गरी कायम गरिएको कित्ता नम्बर १३५९ को जग्गा अमलापती हजामीनको नाममा रहेको उल्लेख गर्दै उनले बाटो नभएको कृषि जग्गा नियमविपरीत कित्ताकाट गरिएको आरोप लगाए।
कार्यालयमा जडान गरिएका सीसीटीभी क्यामेरा बन्द गरेर आफूहरूलाई फसाउने प्रयास गरिएको दाबी गर्दै गोढले सम्बन्धित दिनको सीसीटीभी फुटेज सुरक्षित राखी सार्वजनिक गर्न माग गरेका छन्।
उनले घटनाको निष्पक्ष छानबिन गर्न, सम्बन्धित कर्मचारीमाथि अनुसन्धान गरी दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गर्न तथा आवश्यक देखिए छानबिन अवधिभर निलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
गोढका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारको आरोपसमेत लगाइएको छ। यससम्बन्धी पत्र जिल्ला प्रशासन कार्यालय पर्साको तोक आदेशमार्फत इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको उनले बताए।
यस विषयमा आरोपित कर्मचारी, सम्बन्धित कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्साको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ। आरोपहरूको स्वतन्त्र पुष्टि हुन तथा सम्बन्धित निकायबाट छानबिनको निष्कर्ष आउन बाँकी रहेकाले घटनाबारे थप तथ्य स्पष्ट हुन सकेको छैन।


