नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले विपद्का बेला सरकारी हेलिकोप्टरको प्रयोग र उद्धार कार्यमा विगतमा भएका कमजोरी नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले विपद्का बेला सरकारले फराकिलो सोचका साथ सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले सरकारी हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो व्यवहार गर्न नहुने टिप्पणी गरे । विपद्का बेला उद्धारका लागि उपलब्ध सरकारी स्रोतसाधनको प्रभावकारी र निष्पक्ष रूपमा प्रयोग हुनुपर्ने उनको भनाइ थियो ।
‘यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु । सरकार फराकिलो मन र फराकिलोपनका साथ उद्धार कार्यमा अगाडि बढोस्,’ ओलीले भने ।
उनले यसअघि भदौ १० गते त्रिशूली क्षेत्रमा बाढी आउँदा उद्धार तथा राहत कार्यमा कमजोरी भएको आरोप लगाउँदै बूढीगण्डकी बाढीका क्रममा त्यस्ता समस्या दोहोरिन नदिन सरकारलाई आग्रह गरे ।
ओलीले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सरकारले सर्वदलीय समिति गठन गर्न नसकेको भन्दै आलोचना गरे । विपद् व्यवस्थापनमा सबै दल र सम्बन्धित पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रलगायतका स्थानमा क्षति पुर्याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका काम भइरहेका छन् ।


