सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय काटिरहेका मुख्य प्रतिवादी बाबु थापा दुई थान पेस्तोलसहित पुनः पक्राउ परेका छन् ।

सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय थापालाई बुधबार राति इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार पक्राउ परेका थापाको साथबाट दुई थान कटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।
प्रतिवादी थापा २०८२ भदौ २४ गते जेन्जी (Gen-Z) आन्दोलनका क्रममा सिर्जित अराजक परिस्थितिको फाइदा उठाउँदै काठमाडौँस्थित केन्द्रीय कारागार सुन्धाराबाट भागेका (जेल ब्रेक गरेका) थिए । कारागारबाट फरार भएपछि विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थापा बुधबार राति मात्रै घर पुगेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरी उनलाई नियन्त्रणमा लिएको हो ।

पुनः पक्राउ परेका थापामाथि फरार कैदीका रूपमा बाँकी कैद भुक्तानका लागि कारागार पठाउनुका साथै बरामद हतियारका आधारमा हातहतियार तथा खरखजाना मुद्दामा म्यादसहित थप अनुसन्धान अघि बढाइने डीएसपी राईले जानकारी दिए ।
२०६९ जेठ १८ गते काठमाडौँको शङ्खमूलस्थित बागमती नदी किनारमा न्यायाधीश रणबहादुर बम चढेको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरिएको थियो । सो चर्चित हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई २०७१ सालमा पहिलोपटक पक्राउ गरेको थियो । अदालतले उनलाई सोही हत्याकाण्डको मुख्य योजनाकार ठहर्याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।



