
जनताको घरदैलोमै पुगेर स्थानीयका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिइरहेका सांसद पौडेलले जनताका समस्या समाधानका लागि सम्बन्धित कार्यालय तथा मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनतासँगको भेटघाटसँगै सांसद पौडेलले पार्टी संगठन सुदृढीकरणमा समेत चासो देखाएका छन्। उनले वडा, नगर तथा स्थानीय तहका जिम्मेवार नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय संगठन विभाग सदस्य तथा चन्द्रपुर, रौतहटका संस्थापक सभापति उदय नारायण सापकोटाले संगठनका नेता–कार्यकर्ता र सांसदबीच हुने यस्ता भेटघाटले आपसी सम्बन्ध, आत्मीयता र समन्वयलाई थप मजबुत बनाउने बताए।उनले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधि, विधान र नीतिनियम पूर्ण रूपमा पालना गरिने पनि बताए।
त्यस्तै, रौतहट जिल्ला सदस्य अजय साहले संगठन बलियो भए मात्रै पार्टीको भविष्य सुनिश्चित हुने धारणा व्यक्त गरे। उनले भने, “संगठन जति बलियो हुन्छ, पार्टीको भविष्य त्यति लामो हुन्छ।”
कार्यक्रममा पार्टीका प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति, वडा समिति तथा टोल समितिका नेता–कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो। संविधान संशोधन कार्यदलका सदस्य तथा जेनजी अभियन्ता युवराज मुखियाको समेत उपस्थिति रहेको उक्त कार्यक्रम स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको बताइएको छ।
जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने, समाधानका लागि पहल गर्ने र पार्टी संगठनलाई स्थानीय तहसम्म सुदृढ बनाउने उद्देश्यले सांसद पौडेलले वडा–वडामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।


