१०भदौ,काठमाडौं । सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौराको अवसरमा राजधानी काठमाडौंको सैनिक मंच टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो |कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थिए।

कार्यक्रमको उद्घाटन संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर प्रधानमन्त्री ओली र देउवाले गरेका तर सिमसिम पानी परिरहेको बीचमा सुरु भएको कार्यक्रममा नेताहरूको उपस्थिति दर्शकले रुचाएनन् र उनीहरूलाई लक्षित गर्दै “चोर, देश छोड” र “पाराले, दुस्ख पाए साराले” भन्ने नाराहरू गुञ्जिए।

प्रधानमन्त्री ओलीले अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिले मन्तव्य राख्न खोजे। तर, उनको सम्बोधन सुरु हुनासाथ सहभागी दर्शकले नाराबाजी र होहल्ला सुरु गरे। यसका कारण ओलीले छोटो मन्तव्य मात्र राखे र आफ्नो असन्तुष्टि घुमाउरो रूपमा व्यक्त गरे। उनले नेपाली समाजमा मेलमिलाप र शान्तिपूर्ण सहअस्तित्वको महत्त्वलाई जोड दिँदै केही नयाँ पुस्तामा सभ्यता र शिष्टताको कमी रहेको बताए। ओलीले भने, “नेपालीको परिचय मेलमिलाप हो, तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ।”

कांग्रेस सभापति शेरबहादुर देउवाको सम्बोधनको क्रममा पनि होहल्ला र नाराबाजीले रोकिएन। देउवा मंचमा आउँदा होहल्ला झन् बढेपछि उनले आक्रोशित हुँदै भने, “लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको?”
देउवाले गौरा पर्वलाई बिथोल्नेहरूमा घुसपैठ भएको आरोप पनि लगाए। उनले भने, “यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्, देउडा खेल्न आएका छन्। तर, यहाँ न अरूको कुरा सुन्छन्, न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्, त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।”
कार्यक्रममा एमाले नेता भीम रावल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।


