(कमलेश पटेल)
२३असोज, रौतहट। रौतहटको गढिमाई नगरपालिका-१ समनपुर निवासी ३५ वर्षीय चन्दन साह खुकुरी प्रहारबाट घाइते भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका-९ नरकटिया गाउँदेखि दक्षिणतर्फ१ किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन्।

घाइते चन्दन साह आफ्नो मोटरसाइकलमा सवार भई गरुडाबाट समनपुरतर्फ गइरहेका बेला नाम र पहिचान नखुलेका व्यक्तिले उनलाई घेरा हालेर टाउको, पछाडिको भाग र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए। साहले प्रतिकार गर्दै चिच्याएपछि आक्रमणकारी भागेका थिए भनि जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।

त्यस्तै घाइते साहलाई तत्काल उपचारका लागि गरुडास्थित सरस्वती अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र हालसम्म बोल्न नसक्ने अवस्थामा रहेको परिवारजनले बताएका छन्। आक्रमणमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन्।

आक्रमणको कारण र आक्रमणकारीको पहिचानबारे हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ भनि जानाकारी गराएको छ ।



