२९ असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र वीरगञ्ज रक्सौलको मितेरी पुलमा आज भारतको एसएसबीले गोली चलायो । मितेरी पुलको दक्षिणतर्फ आज दिउँसो भुइमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताएपनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ । तर, गोली नै चलाएको हो कि होईन भन्ने यकिन भएको छैन भईरहेको बताउनुभयो ।
भारतको अहिरवा टोलाबाट
कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छिन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् ।
एसएसबीले गोली चलाएपछि भने प्रत्यक्षदर्शी ती महिला र पुरुष नेपाल तर्फ भागेको बताइएको छ । नेपालतर्फका एक सुरक्षा अधिकारीका अनुसार भारतीय सीमा सुरक्षा बलले गोली लोड भएको हतियार सहित पुलक्षेत्रमा आउँदा असावधानीवस पड्किएको हुनसक्ने बताएको छ ।
उनका अनुसार भारतीय सीमा सुरक्षा बलको लोड भएको हतियारमा ट्रिगरलाई तैनाथ गरिएर राखेको हुने र उनीहरुको असावधानीले पड्किएको हुनसक्ने ती सुरक्षा अधिकारीले अनुमान लगाएका छन् ।
घटनाको पुष्टि भने अझै भएको छैन । नेपालतर्फको सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी गराएको छ ।


