२२मन्सिर्, वीरगञ्ज । विश्वप्रसिद्ध पाँच बर्सिय महागढीमाई मन्दिरमा भाकल चढाउन ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । बलिका लागि भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका भक्तजनहरूलाई एसएसबीले भारतीय भूभागमै रोकेको हो ।

एसएसबीले हालसम्म १४६ वटा पशु र १५ वटा कबूतरलाई नियन्त्रणमा लिएको छ । एसएसबीका अधिकारीहरूका अनुसार महागढीमाई मेला सम्पन्न भएपछि ती पशुपक्षीलाई छाडिनेछ ।

त्यस्तै महागढीमाई मेला हेर्न र पूजाआजा गर्न भक्तजनलाई नेपाल प्रवेश गर्न अनुमति दिए पनि बलिका लागि पशुपंक्षी ल्याउन रोक लगाइएको छ । यो कदम भारतको सर्वोच्च अदालतको बलिप्रथा रोक्न जारी आदेश अनुसार चालेको बताइएको छ ।
महागढीमाई मेला धार्मिक र सांस्कृतिक दृष्टिकोणले विश्वकै ठूलो मेलामध्ये एक हो । परम्परागत रूपमा बलिप्रथा यस मेलाको एक हिस्सा रहँदै आएको भए पनि यसपटक भारतीय प्रशासनको कडाइका कारण बलिका लागि पशुपक्षीसहित नेपाल प्रवेशमा रोक लगाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिर्थालुहरूको सहजताका लागि नेपाल प्रवेशमा कुनै अवरोध नगर्न निर्देशन दिएको जानकारी दिएका छन् । उनले भने, “पर्साका सबै नाकाहरूमा आउने सामग्रीहरूको दर्ता गर्न र तिर्थालुहरूलाई कुनै दुःख नदिन स्पष्ट निर्देशन दिएका छौं ।”

नेपालतर्फ पर्सा र बाराका सीमा नाकामा कुनै किसिमको समस्या नभएपनि भारतीय एसएसबीले भने प्रवेश गर्न रोक लगाएपछि भारतले नेपालको यस धार्मिक परम्परामाथि प्रहार गरेको विश्लेषकहरुको बुझाई छ


