१६पुष, महोत्तरी| ३ जना विद्यार्थीले परीक्षा बिग्रिएपछि महोत्तरीमा एकैसाथ विष सेवन गरेका छन्। बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका हुन्। मृत्यु हुनेमा रिङ्कु शर्मा रहेको छ। यता उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


अचेत अवस्थामा रहेको शर्मालाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासले जंगली क्षेत्रबाट उद्धार गरी बर्दिबास अस्पताल पुर्याएको थियो। उनको अस्पताल ल्याउनुभन्दा अगाडि नै बाटोमा मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ।
तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन्। शिक्षालयले केही दिनअघि लिएको टेस्ट (परीक्षा)मा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका थिए। जसका कारण उनी मानसिक तनावमा आई विष सेवन गरेको अस्पतालमा उपचाररत सन्जुले बताइन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए अनुसार घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।


