१४ फागुन,वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व आज महाशिवरात्रि देशभरिका भक्तजनहरुले शिवालयहरमा पूजा आराधना गरी मनाइँदैछ ।

भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये १ पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ ।

भक्तजनले फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्त्व छ ।
विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्विछिन भने अबिवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छिन ।

शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।


