Lucky-Khabar_

एसइईमा चिट चोर्न प्रयोग गरिएको ४२४ वटा मोबाइल रौतहटमा बरामद, जना पक्राउ

७ चैत,वीरगञ्ज ।रौतहटमा पहिलो दिनमै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि ठूलो सङ्ख्यामा मोबाइल बरामद भएको छ ।

content ad p2

विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्न खोजेपछि कडा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो ।

विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइवरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ । प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो ।

परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।

त्यस्तै मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भङ्ग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

विगतका वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट चिट पुर्‍याउने कार्य व्यापक बनेपछि यसपालि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा पारिएको हो । परीक्षा प्रणालीलाई पारदर्शी बनाउन गरिएको कडाइका बाबजुद ४२४ मोबाइल बरामद हुनुले अझै प्रभावकारी निगरानी आवश्यक रहेको देखिएको छ ।

एसइई परिक्षा अन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित खबर

बौधीमाईको शंकर माविमा राहत शिक्षक नियुक्ति पारदर्शी बनाउन स्थानीयवासीको माग

लक्की खबर

PMC एकेडेमी वीरगञ्जको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

लक्की खबर

उच्च अदालतको आदेशसमेत अटेर गरेको आरोपमा प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

लक्की खबर