१८ जेठ, काठमाडौं ।यातायात व्यवसायी तथा मजदुरहरूले सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन्।मजदुरहरूले राइड सेयरिङसम्बन्धी कानुनको विरोधमा उनीहरूले अत्यावश्यक सेवामा पर्ने यातायात नै ठप्प पार्न लागेका हुन्। 

माग पूरा नभएसम्म यातायातका साधन थन्क्याउने आज यातायात व्यवसायी तथा मजदुरहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरी निर्णय गरेका हुन्। २ दिनदेखि उनीहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

गण्डकी सरकारले हालै ल्याएको यससम्बन्धी कानुनको विषयलाई लिएर सुरुमा पोखराका व्यवसायी आन्दोलनमा उत्रिएकोमा हाल देशैभरि यातायात ठप्प पार्न लागिएको छ। निजी सवारीसाधनलाई पनि राइड सेयरिङको अनुमति दिँदा आफूहरूको व्यवसायमा असर गर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि सेवा बन्द गर्ने घोषणा गरेका हुन्।


