३० जेठ, वीरगञ्ज ।वीरगञ्जमा मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भई दुईको मृत्यु, एक गम्भीर घाइते भएका छन्।

मृतकहरू पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा दुर्घटनामा परेको हो।

प्राप्त जानकारी अनुसार शुक्रबार बिहान ५ बजेतिर भुस लोड गरिरहेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रक सडकमा बिग्रिएर रोकिएको थियो। सोही समयमा सिर्सिया बाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै नारायणी अस्पताल पुर्याइएका रामाकान्त र विजयको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको र हाल चालकको खोजी जारी रहेको डीएसपी लम्सालले बताए।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ।


