२९ साउन,वीरगन्ज|वीरगन्जको सुनचाँदी पसलमा छापा मार्दा व्यपारीहरुले विरोध गरेका छन्| वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानस्थित गहवामाई मन्दिर नजिकको गल्लीमा सञ्चालित दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको रहेछ ।


सो सुनचाँदी पसलमा बिलबिजक बिना सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक किशोर लम्साल नेतृत्वको टोलीले छापामा मारेको हो । बिहीबार दिउँसो करिब २ः३० बजेतिर सुनचाँदी पसलमा छापा मार्न प्रहरीको टोली प्रवेश गरेपछि वीरगन्जका सुनचाँदी व्यवसायी र कालीगढहरुले त्यहा पुगेर प्रतिवाद गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रहरी नायब उपरीक्षक लम्साल नेतृत्वको टोलीले पसलमा छिरेर सञ्चालक दीपक सर्राफसंग सुनचाँदीको गरगहना खरिद र बिक्री गरिएको बीलबीजकहरु मागेर करिब तीन घण्टासम्म अनुसन्धान गरेको थियो ।त्यसक्रममा बीलबीजकमा केहि कैफियत देखिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगन्जबाट कर्मचारीहरुलाई बोलाएर पसलका बीलबीजकहरु जिम्मा लगाएर आँफुहरु निस्किएको लम्सालले बताए ।

पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीले गैरकानुनी रुपमा पसलमा छिरेर छापा मारेको आरोप लगाए । बीलभौचरको छानबिन र अनुसन्धान गर्ने काम राजश्व कार्यालयको भएको भन्दै अध्यक्ष सर्राफले प्रहरीले आफ्नो कार्यक्षेत्र बाहिर गएर पसलमा छिरेर दुःख दिएको आरोप समेत लगाए ।

‘ केहि सूचना आएको थियो भने प्रहरीले राजश्व कार्यालय,वाणिज्य कार्यालय ,वीरगन्ज उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायीसंग समन्वय गरेर मात्रै पसलमा छिर्नु पथ्र्यो, सरासर प्रहरीको ज्यादती हो।’सर्राफले भने |


