राम आर्य
३१साउन, वीरगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरूले आज शनिवार हिन्दु धर्मालामबिहरुले श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसित मनाइँदै छन् । द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व र रातलाई ‘मोहरात्रि’ को रूपमा मनाइन्छ ।ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–आराधना, भजन–कीर्तन, प्रवचन र व्रत बस्ने परम्पराले आज देशभरिका कृष्ण मन्दिरहरू भक्तजनले भरिएका छन् ।

श्रीकृष्ण जन्माष्टमी भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवको रूपमा मनाइन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवजातिको रक्षा गर्न श्रीकृष्णले आफ्नो जीवनकालमा सत्य र धर्मको पक्षमा लडाइँ गरेका थिए । उनले पाण्डवका अर्जुनलाई कुरुक्षेत्रको युद्धमा दिएको उपदेश ‘श्रीमद्भागवत गीता’ विश्वकै एक उत्कृष्ट दार्शनिक र आध्यात्मिक ग्रन्थ मानिन्छ । गीता विश्वमा सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थको रूपमा परिचित छ । गीताले मानव जीवनको कर्म, धर्म, र मुक्तिको मार्गलाई स्पष्ट रूपमा व्याख्या गर्छ ।
श्री कृष्ण जन्माष्टमीको दिन भक्तजनहरूले व्रत बस्ने, रातभर जाग्राम बसेर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्ने प्रचलन छ । विशेष गरी महिलाहरूले आफ्नो परिवारको सुख–शान्ति र समृद्धिका लागि व्रत बस्छन् । मन्दिरहरूमा श्रीकृष्णको बाल स्वरूपको विशेष पूजा गरिन्छ, जसमा दही, माखन र मिठाई अर्पण गरिन्छ । धार्मिक मान्यताअनुसार, श्रीकृष्णको जन्म मध्यरातमा भएको थियो, त्यसैले मध्यरातमा विशेष पूजा र आरतीको आयोजना हुन्छ ।
देशभरिका कृष्ण मन्दिरहरूमा आज विशेष उत्सवको आयोजना गरिएको छ । काठमाडौँको पाटनस्थित श्रीकृष्ण मन्दिर, ललितपुरको कृष्ण मन्दिर र अन्य प्रमुख मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । पाटनको कृष्ण मन्दिरमा हरेक वर्ष जस्तै यो वर्ष पनि भक्तजनहरूले रातभर जाग्राम बसेर भजन–कीर्तन गरेका छन् । त्यस्तै, भक्तपुर, पोखरा, जनकपुर लगायतका स्थानमा पनि जन्माष्टमीको रौनक छाएको छ ।
त्यस्तै श्रीकृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल वीरगञ्ज कार्यसमितिले गीता मन्दिरबाट भव्य यात्राको आयोजना गरेको छ । बिहान गीता मन्दिरबाट सुरु भएको यात्राले नगर परिक्रमा गर्दै पुनः गीता मन्दिरमा आएर विसर्जन भएको छ । विश्व हिन्दु परिषद् वीरगञ्ज कार्यसमितिका अध्यक्ष ज्योति रूङटाका अनुसार, यात्रामा हजारौँ श्रद्धालुहरूले सहभागिता जनाएका थिए । “यो यात्राले हाम्रो सांस्कृतिक र धार्मिक एकताको सन्देश प्रवाह गरेको छ । भगवान् श्रीकृष्णको सत्य र न्यायको सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ,” रूङटाले भने । यात्रामा भक्तजनहरूले श्रीकृष्णको भजन गाउँदै र झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमी पर्वबारे आफ्नो बच्चा एवं कुनै पनि व्यक्तिहरुलाई भगवान श्री कृष्णझैँ रुप बनाई पुजा गर्नुको साटो कृष्णले गीतामा दिएको उपदेश सुनाई बुझाई कृष्णझैँ रुप होइन कृष्णझैँ सहि र सत्यको बाटोमा हिडन सधै बुध्दी र संस्कार दिनु र आफु लिनुले मात्र भगवान कृष्णको मान्य हुनेछ भनि सत्य धर्म मान्ने राम सुन्द्र आर्यको भनाई छ |



