Lucky-Khabar_

वीरगन्जमा हैजाको महामारी नियन्त्रण गर्नमा जुटे तीनै तहका सरकार

राम सुन्द्र आर्य
वीरगन्ज |वीरगन्ज महानगरमा फैलिएको हैजा (कोलेरा) को महामारी रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार स्थानीय,प्रदेश र संघ गरी जुटेका छन् ।

नाला र ढलको दुषित पानीबाट हैजाको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।त्यसको यकिन कारण पत्ता लगाउन वीरगन्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका विभिन्न ११ स्थानको खानेपानीको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा शनिबार पठाइएको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए| काठमाडौंको प्रयोगशालबाट त्यसको रिपोर्ट सोमबार आउने सम्भावना रहेको स्वास्थ्य कार्याय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

content ad p2

यसैगरिी वीरगन्ज महानगरपालिकाले नालाहरुमा रहेका खानेपानी संस्थान र डीप बोरिङका पाइपहरु नालाबाट झिकेर त्यसको व्यवस्थापनको कामपनि आइतबारदेखि सुरु गरिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए ।सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर १२ मा आइतबार त्यो काम गरिएको र सोमबारदेखि अन्य वडाहरुमा पनि त्यसलाई निरन्तरता दिइने उनले बताए ।

प्रभावित क्षेत्रहरुमा जनचेतना फैलाउन महानगरले २६ वटा टोली गठन गरेर परिचालन गरेको उनले जानकारी दिए । जसमा महानगरका स्वास्थ्यकर्मी,वीरगन्जका नर्सीङ कलेजका छात्राहरु सहभागी छन् । उनिहरुले प्रभावित क्षेत्रका हरेक घरधुरीमै पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, सम्भावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको कर्णले जानकारी गराए ।

संघ सरकारको खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आएको प्राविधिक सहितको टोलीले पनि वीरगन्जका विवभिन्न वडाहरुमा पुगेर परीक्षणका लागि खानेपानीको नमूना संकलन गरिरहेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए। प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली वीरगन्ज पठाइएको श्रेष्ठले जानकारी दिए ।

त्यसतै हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरु मधेस प्रदेश सरकारले वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरेका हुन् ।

आइतबार वीरगन्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकमा सहभागी भएको प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघनप्रसाद सिंहले हैजाको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए ।स्वास्थ्य महाशाखाको आपुर्ति प्रमुख डा. विपनकुमार झा नेतृत्वको छुट्टै टोलीपनि वीरगन्जमा परिचालन गरिसकिएको उनले बताए ।


उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केहि मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए ।नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक , १० जना परामेडिकल स्टाफ र केहि स्टार्फ नर्स पठाइसकेको उनले बताए । प्रदेश सरकारको स्वाास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसंगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जानेपनि उनले बताए ।

पर्साका १४ वटै पालिकाका प्रमुख,सुरक्षा निकायका प्रमुख,स्वास्थ्य कार्यालय पर्साका प्रमुख, राजनीतिक दलका प्रतिनिधी लगायत सहभागी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारी रोकथाम र नियन्त्रणका लागि ७ वटा निर्णयहरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले जानकारी दिए । उनका अनुसार, बैठकले झाडापखाला र हैजा रोकथामका लागि प्रभावित क्षेत्रमा माईकिङ्ग, घरदैलो एवं सचेतना जागरणका अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लामा सबै अस्पतालहरुले उपचारको लागि अस्पतालमा पुग्ने बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखी समयमै उपचारको व्यवस्था मिलाउने,संक्रमण बढेको अवस्थामा उपचारको लागि अस्पतालहरुले ‘डेडिकेटेड बेड’ छुट्याउन र थप जनशक्तिको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहनुपर्ने निर्णयपनि बैठकले गरेको जानकारी कार्कीले गराए ।

महामारी नसकिदासम्म स्वास्थ्य कर्मचारीहरुलाई अत्यावश्यक बाहेक विदा स्विकृत नगर्ने रऔषधि, किट, खानेपानी निर्मलिकरणका लागि आवश्यक औषधिको पर्याप्ता सुनिश्ति गर्न स्वास्थ्य कार्यालयले आवश्यक पहल गर्ने र त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णयपनि भएको उनले बताए ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर