काठमाडौं|अमेरिकामा अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाटबजेट पारित नहुँदा संघीय सरकार शट डाउन गरि सबै काम ठप्प पार्ने घोषणा गरेको छ।


सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि शट डाउन लागू भएको हो। शटडाउनमा सरकारसँग खर्चका लागि पैसा हुँदैन। राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण अवस्थाका कारण संघीय सरकार शटडाउन भएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कालाई दोष लगाएका छन्। सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा ‘शटडाउन’ सुरु भएको छ।

सन् २०१८-१९ पछि पहिलो पटक उत्पन्न यस्तो स्थितिमा अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले भने, ‘जब तपाईंले यसलाई बन्द गर्नुहुन्छ, तपाईंले कामबाट निकाल्नुपर्छ, हामी धेरै मानिसहरूलाई जागिरबाट निकाल्नेछौं।’

शटडाउनले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिनेछन्। तर मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवा लगायतका आपतकालीन सेवाहरू जारी रहन्छन्।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एक निरन्तर प्रस्तावका रूपमा कुनै पनि थपघट नगरी पारित गर्न चाहेका थिए। सिनेटबाट यो विधेयक पारित हुन ६० सदस्य चाहिन्थ्यो तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्। विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना बिल पारित नहुने अवस्था थियो।

यसैलाई बुझेर स्वास्थ्य सेवालगायतका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि उनीहरूले संसदीय अङ्कगणितको प्रयोग गरेको ठानिएको छ।
त्यस्तै सन् १९८० पछि फन्डिङ बिल अड्किएका कारण १५ पटक शटडाउन अमेरिकामा भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शट डाउनको सामना गर्नुपरेको थियो। सन् २०१८ को शट डाउन सबैभन्दा लामो ३५ दिनसम्म चलेको थियो। सन् २०१३ मा बाराक ओबामाले पनि १६ दिनको शट डाउन भोग्नुपरेको थियो। त्यसअघि सन् १९९५ मा बिल क्लिन्टन राष्ट्रपति हुँदा २१ दिन शट डाउन चलेको थियो। बाँकी शट डाउन भने पाँच वा त्यो भन्दा कम दिन मात्रै चलेका छन्।


