काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया–४ बाराका दुई कर्मचारी र दुई सञ्चारकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, बारा कलैयास्थित डिभिजन कार्यालयका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सञ्चारकर्मी निसान्त सिग्देल र सन्तोषराज खरेलले २०७९/०८० सालमा २३ वटा निर्माण योजनाका लागि आह्वान गरिएको बोलपत्र सूचना राष्ट्रिय दैनिकमा नछपाई मिलेमतोसहित ठेक्का प्रक्रिया अघि बढाएको प्रमाणित भएको छ।

प्रेस काउन्सिल नेपाल तथा प्रभाव पब्लिकेसन प्रा.लि.ले दिएको पुष्टिअनुसार, २०७९ फागुन २१ को ‘प्रभाव दैनिक’ मा उक्त बोलपत्र सूचना कहीं पनि प्रकाशित नभएको भए पनि उनीहरूले कार्यालयमा एक मात्र प्रति बुझाई झुट्टा बिल र भुक्तानीका कागजात तयार पारेको आयोगले जनाएको छ।

यही नक्कली कागजातका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई रु. ३,१६,५७० (अग्रिम कर बाहेक) भुक्तानी गरिएको र सो रकममध्ये रु. ५०,००० प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलकै निकासीमा गएको अनुसन्धानबाट पुष्टि भएको हो।
आयोगले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) ङ अन्तर्गत पर्ने ठहर गर्दै बिगो असुल र कानुनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।


