काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइन सट्टेबाजी सञ्चालन गरेको शंकामा प्रहरीले आठ भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई बल्खु क्षेत्रमा नियन्त्रणमा लिएको हो।

प्रहरीको भनाइअनुसार, उनीहरूले अनलाइन बेटिङ प्लेटफर्ममार्फत खेलको नतिजामा रकम लगाएर अन्य व्यक्तिलाई पनि सट्टेबाजीमा संलग्न गराउने गतिविधि गर्दै आएका थिए। पक्राउ परेका सबैजना भारतको आन्द्र प्रदेशस्थित प्रकासम जिल्लाका हुन्।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १५ वटा मोबाइल फोन बरामद गरी प्राविधिक विश्लेषण थालेको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सबैलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


