काठमाडौं । संखुवासभामा श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका व्यक्तिले नै हत्या गरेको रहस्य खुलेको छ ।

संखुवासभा मादी गाउँपालिकाका प्रेम दोर्ची शेर्पाले आफ्नी श्रीमती मिना शेर्पा हराएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा मंसिर ९ गते राति करिब साढे १० बजे ओखरबोट बजारबाट घर फर्किँदै गर्दा मिना शेर्पा बाटोमै छुट्टिएर आफैँ हिँडेर बेपत्ता भएको दाबी गरिएको थियो ।
तर, घटनाबारे गहिरो अनुसन्धान गर्दै जाँदा मिनाको हत्या भइसकेको र सो हत्या उनकै श्रीमान् प्रेम दोर्ची शेर्पाले गरेको खुलेको हो । संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार बजारबाट घर फर्कने क्रममा दुवैबीच विवाद भएपछि प्रेम दोर्चीले कुटपिट गरी श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । हत्या पश्चात् उनले शवलाई त्रिपालले बेरेर खाल्डो खनी गाडेको बयान दिएका छन् ।
घटनाको १९ दिनपछि प्रहरीले हत्या गरी गाडिएको अवस्थामा शव उत्खनन गरी निकालेको छ । पक्राउ परेका प्रेम दोर्ची शेर्पाविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


