Lucky-Khabar_

बालेनको चुनावी समीकरण : रवि भेट्नुअघि कुलमानसँग ‘वान–टु–वान’ छलफल

१० पुस, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वैकल्पिक राजनीतिक शक्तिहरूबीचको दौडधुप तीव्र बनेको छ । यही क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार बिहान महत्वपूर्ण भेटवार्ता भएको छ ।

content ad p2

ललितपुरमा भएको उक्त ‘वान–टु–वान’ छलफलमा आगामी निर्वाचनमा सम्भावित सहकार्य, मोर्चाबन्दी र सत्ताको बाँडफाँट (पावर सेयरिङ) का विषयमा प्याकेजमै सहमति जुटाउने प्रयास गरिएको बताइएको छ । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ ।

छलफलका क्रममा बालेनले आफूलाई प्रधानमन्त्रीको प्रमुख उम्मेदवारका रूपमा स्थापित गर्नुपर्ने अडान राखेको स्रोतको दाबी छ । उता मन्त्री घिसिङले पनि सोही पदका लागि आफूलाई प्रोजेक्ट गरिरहेका कारण दुई प्रभावशाली व्यक्तित्वबीचको सहकार्यमा नेतृत्वको प्रश्न मुख्य चुनौती बनेको देखिएको छ ।

निर्वाचनका लागि नयाँ शक्ति र सरोकारवाला पक्षहरूसँग निरन्तर संवाद गरिरहेका यी दुई नेताबीच सहमतिको प्रयास भए पनि तत्काल ठोस निष्कर्ष भने निस्कन सकेको छैन । कुलमान निकट स्रोतका अनुसार छलफल सकारात्मक दिशामा अघि बढेको र विभिन्न विकल्पमा गृहकार्य भइरहेको छ । गत मंसिर १४ गतेपछि दोस्रो पटक भएको यो भेटघाटले वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको विश्लेषण गरिएको छ ।

कुलमानसँगको छलफलपछि मेयर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् । एकै दिन दुई ठूला राजनीतिक शक्तिसँग संवादमा जुटेका बालेन आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने वा रास्वपा र कुलमान पक्षधर शक्तिसँग मिलेर वृहत् मोर्चा बनाउने अन्तिम तयारीमा रहेको संकेत मिलेको छ ।

निर्वाचन आउन अब दुई महिना मात्र बाँकी रहँदा यी उदयमान शक्तिहरूबीचको पावर सेयरिङ र सहकार्यले परम्परागत दलहरूलाई कस्तो चुनौती दिन्छ भन्ने विषय आगामी दिनमा हुने थप वार्ताले स्पष्ट पार्नेछ ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर