Lucky-Khabar_

राजेन्द्र महतो सप्तरी–२ बाट पनि सिफारिस, सर्लाही कि सप्तरी ? चुनावी क्षेत्रबारे चासो

१० पुष, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट पनि उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

content ad p2

सर्लाहीबाट चुनाव लड्ने तयारी लगभग निश्चित भएको चर्चा चलिरहेका बेला सप्तरी क्षेत्रीय समितिले अध्यक्ष महतोको नाम उच्च प्राथमिकतासहित सिफारिस गरेपछि उनको चुनावी क्षेत्रलाई लिएर नयाँ बहस सुरु भएको छ । सप्तरी–२ को क्षेत्रीय समितिले महतोसँगै पार्टीका महासचिव केशव झा र नेता महेश यादवको नाम समेत केन्द्रमा पठाएको छ ।

अध्यक्ष महतोलाई दुई जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिनुलाई मधेस राजनीतिमा उनको प्रभाव र रणनीतिक भूमिकाका रूपमा हेरिएको छ । पार्टीले संगठन विस्तार र उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाउँदै गर्दा सप्तरीका अन्य क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेता चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डललाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

‘राष्ट्रिय मुक्ति आन्दोलन’ मार्फत मधेस, थरुहटलगायतका मुद्दा उठाउँदै आएका महतोका लागि सप्तरी–२ लाई प्रतिष्ठाको क्षेत्र मानिन्छ । यहाँ अन्य ठूला दलका प्रभावशाली नेतासँग प्रतिस्पर्धा हुने भएकाले पार्टीले शीर्ष नेतृत्वलाई नै उम्मेदवारका रूपमा अघि सारेको बुझिएको छ ।

अध्यक्ष महतो अन्ततः सर्लाही कि सप्तरीमध्ये कुन क्षेत्रबाट चुनावी मैदानमा उत्रिन्छन् भन्ने विषयले मधेसको समग्र चुनावी समीकरणमा प्रभाव पार्ने देखिएको छ । गृहजिल्ला सर्लाही उनको राजनीतिक आधार क्षेत्र भए पनि सप्तरीका कार्यकर्ताको दबाबले पार्टीभित्र छलफल चर्किएको छ । पार्टीको केन्द्रीय समितिले सिफारिसहरूमाथि छलफल गरी चाँडै अन्तिम निर्णय लिने तयारी गरेको छ ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर