काठमाडौं| नेपाली राजनीतिको ध्यान यतिबेला नयाँदिल्लीमा केन्द्रित भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर स्वदेश फर्किन नपाउँदै नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन्।

आइतबार दिल्ली पुगेका प्रचण्डले त्यहाँ आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्नुका साथै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। सोमबार साँझ नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्कँदै गर्दा आरजुको दिल्ली यात्राले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

आरजुको भ्रमणलाई कांग्रेसले व्यक्तिगत वा औपचारिक राजनीतिक भेटघाट कुन श्रेणीमा पर्छ भन्ने स्पष्ट पारेको छैन। तर पछिल्ला दिनहरूमा नेपाली शीर्ष नेताहरूको लगातार दिल्ली दौडधुपले यसलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ। यसअघि नै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि दिल्लीमा उच्चस्तरीय राजनीतिक छलफल गरेका थिए। यस्तै, आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी उपचारका लागि दिल्ली प्रस्थान गरेका थिए।
काठमाडौंमा सत्ता समीकरण र आन्तरिक राजनीतिक खिचातानी तीव्र भइरहेका बेला प्रमुख दलका नेताहरूको दिल्ली भ्रमणलाई भावी राजनीतिक दिशा र शक्ति सन्तुलनसँग जोडेर विश्लेषण गरिँदै छ। विशेषतः प्रचण्डले डोभलसँग गरेको सुरक्षा तथा राजनीतिक ब्रिफिङलगत्तै आरजुको उपस्थिति हुनुले छिमेकी मुलुकसँगको सम्बन्ध र आन्तरिक राजनीतिमा बाह्य चासोको प्रभाव पुनः बहसमा ल्याएको छ।

प्रचण्डले आफ्नो भ्रमणलाई प्रवासी नेपालीसँगको कार्यक्रममा सीमित देखाउन खोजे पनि दिल्लीमा भएका ‘लो प्रोफाइल’ भेटघाटहरूले काठमाडौंको सत्ता राजनीतिमा सम्भावित फेरबदलको संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अब आरजु राणा देउवाले दिल्ली बसाइका क्रममा कुन–कुन तहका नेताहरूसँग संवाद गर्छिन् भन्ने विषयले आगामी दिनमा नेपाली राजनीतिको तापक्रम निर्धारण गर्ने देखिन्छ।


