वीरगञ्ज। पर्साको रोयल पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न गाउँबाट नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र सुशासन पार्टीका नेता–कार्यकर्ता रास्वपामा समाहित भएका हुन्।

पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तित्वमा कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु राउत बारै(जसपा नेपालबाट निर्वाचित),पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ र पूर्व वडाध्यक्ष महादेव चौरसिया रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत; राष्ट्रिय प्रजातन्त्र पार्टीका ललन ठाकुर तथा सुशासन पार्टीका लक्ष्मण महतो लगायतका स्थानीय नेताहरू निःशर्त रास्वपामा प्रवेश गरेका छन्।

कालिकामाई गाउँपालिका–२ का एमाले नेताहरू मनमोहन प्रसाद चौरसिया, राजेश साह, अकलेश कुशवाहा तथा कालिकामाई–५ का जसपा नेता रमेश प्रसाद पटेल, शम्भु प्रसाद चौहानसहितका व्यक्तिहरू पनि पार्टीमा आबद्ध भएका छन्। साथै, ‘जेनजी’ समूहका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साहलगायत युवाहरूले समेत रास्वपाको सदस्यता लिएका छन्।
नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति एकका राम आर्य,दुईका फैयाज अन्सारी र चारका जितेन्द्र मिश्र,जिल्ला उपसभापति तुल्सा पौडेल र नेता टेकबहादुर शाक्यलगायतले अबिर–टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यो जनलहरले पर्सा क्षेत्र नं. ४ मा रास्वपा थप मजबुत बनेको दाबी गर्दै आगामी फागुनमा हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
सोही अवसरमा क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाको उम्मेदवार टेकबहादुर शाक्य रहने जानकारी गराउँदै उनलाई भारी मतले विजयी गराउन आह्वान गरे।
रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए।


