काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने भएका छन्। राजीनामा दिएपछि उनी आजै दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्।
रास्वपाको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंगो लगाउनेछ। उम्मेदवार छनोटपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम तय भएको छ।
बालेन शाह झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारीमा छन्। त्यसका लागि रास्वपाले सो क्षेत्रमा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।
इन्जिनियरिङ अध्ययन गरेका तथा र्यापरका रूपमा समेत परिचित बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। ‘जेन–जी’ आन्दोलनपछि उनी रास्वपामा प्रवेश गरेका हुन्।
यसअघि गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै सातबुँदे सहमति गरेका थिए।



