काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारहरूलाई हल्ला मात्रै भएको बताएकी छन्।

शुक्रबार उम्मेदवारी फिर्ताको प्रक्रियाका लागि निर्वाचन कार्यालयतर्फ जाँदै गरेको चर्चा चलेपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी उम्मेदवारी फिर्ता लिन लागेको खबर फैलिएको थियो। तर तामाङले सामाजिक सञ्जालमार्फत ती खबरहरूको खण्डन गर्दै आफू चुनावी मैदानबाट पछि नहटेको स्पष्ट पारेकी छन्।

उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवार बनेको र जनताको प्रतिनिधि भएर संसद् पुग्ने दृढ संकल्पमा रहेको बताएकी छन्।
यसअघि उम्मेदवारी फिर्ता लिन इमेल पठाएको र धादिङ जाँदै गरेको खबर सार्वजनिक भएपछि समर्थकहरूमाझ अन्योल सिर्जना भएको थियो। तर तामाङको पछिल्लो स्पष्टीकरणले उक्त अन्योललाई चिर्दै धादिङ–२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
तामाङले कुनै पनि दबाब वा हल्लाको प्रभावमा नपरी चुनावी अभियानलाई अन्तिमसम्म निरन्तरता दिने र संसद् यात्रा तय गर्ने दाबी गरेकी छन्।


