वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयमा भएको विवाद उग्र बन्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका स्थायी बासिन्दा केपीचन्द राउत रहेको पर्सा प्रहरीले जनाएको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा धकेलाधकेलको अवस्था सिर्जना भई राउत गम्भीर घाइते भएका थिए।

घाइते राउतलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२३, प्रसौनी निवासी अर्जुन यादवले जबरजस्ती राउतको घर अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा झगडा भएको हो। घटनामा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन जारी रहेको जनाएको छ।


