काठमाडौं| रौतहटको इशनाथ नगरपालिकामा चुनावी प्रचारमा प्रयोग गरिएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

दुर्घटनामा संलग्न बा १५ च ४२४४ नम्बरको कारका चालक, परोहा नगरपालिका–३ निवासी २७ वर्षीय शेख मुस्ताखविरुद्ध जिल्ला अदालत रौतहटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार अदालतले चालकलाई हिरासतमा राखी विस्तृत अनुसन्धान गर्न अनुमति दिएको छ।
बिहीबार दिउँसो इशनाथ नगरपालिका–स्थित मठिया टोलमा भएको उक्त दुर्घटनामा ४ वर्षीया अल्फा खातुनको ज्यान गएको थियो।
प्रहरी अनुसन्धानका क्रममा सो कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको र निर्वाचन प्रचारका क्रममा प्रयोग भइरहेको पुष्टि भएको छ। दुर्घटनाको समयमा उम्मेदवार सगिर गाडीमा सवार नरहेको प्रहरीले स्पष्ट पारेको छ।
उम्मेदवारकै नाममा दर्ता रहेको सवारी साधनबाट मानवीय क्षति भएपछि घटनाले कानुनी तथा नैतिक बहससमेत जन्माएको छ। प्रहरीले चालक मुस्ताखविरुद्ध सवारी ज्यान मुद्दाअन्तर्गत अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। साथै, घटनासँग सम्बन्धित सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाणहरूको समेत अध्ययन भइरहेको छ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको यस दुःखद घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ।


