काठमाडौं । बालेन्द्र शाहले देशभित्र उपलब्ध स्रोत र सम्भावनालाई अधिकतम उपयोग गर्दै आन्तरिक उत्पादन बढाउने र नागरिकलाई स्वदेशी वस्तुमै आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कृषि उत्पादन र वितरण प्रणालीमा देखिएको असन्तुलनप्रति ध्यानाकर्षण गराए।
उनले उदाहरण दिँदै भने, “हामी इलाम–दमकको चिया पिउँछौं, तर बिहान खाने तरकारी भने किन सीमापारिबाट आउँछ?” उनका अनुसार तेह्रथुम र पाँचथरमा उत्पादन हुने तरकारी पूर्वी तराईका बजारसम्म सहज रूपमा नपुग्नु विडम्बना हो। “हाम्रै पूर्वी पहाडमा फल्ने तरकारी झापा, सुनसरी वा विराटनगरमा पर्याप्त रूपमा नपुग्नु दुःखद विषय हो,” उनले उल्लेख गरे।
शाहले पूर्वी तराईका केही जिल्लामा धान उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै त्यहाँ पूर्ण क्षमताअनुसार खेती गर्न सके देशभर खाद्यान्न आपूर्ति सम्भव हुने धारणा राखे।
स्वदेशी उत्पादन प्रवर्द्धन, कृषि आधुनिकीकरण, प्रभावकारी बजार व्यवस्थापन र किसानलाई उचित मूल्य सुनिश्चित गर्ने नीतिमार्फत आयातमा निर्भरता घटाउने र देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रास्वपाले अघि सारेको उनले स्पष्ट पारे।


