काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले मौन अवधिमा ‘शून्य सहनशीलता’ को नीति अपनाएको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले भिडियो सन्देशमार्फत मौन अवधिमा हुने कुनै पनि अवैध गतिविधि सह्य नहुने स्पष्ट पार्नुभएको हो।

उहाँले आचारसंहिता विपरीतका गतिविधिमाथि आयोगको कडा निगरानी रहने बताउँदै प्रमाणित उल्लंघन भए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिन सक्ने चेतावनी दिनुभयो। त्यस्तै, दोषी ठहर भएमा ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने प्रतिबन्धसमेत लगाइने उल्लेख गरिएको छ।
आयोगले विशेषगरी सामाजिक सञ्जालको दुरुपयोगप्रति कठोर दृष्टिकोण अपनाएको जनाएको छ। मौन अवधिमा गलत सूचना वा भ्रामक सामग्री प्रसारण भए तत्काल हटाउन निर्देशन दिइने र अटेर गरे प्राविधिक माध्यमबाट स्रोत पहिचान गरी कानुनी कारबाही अघि बढाइने स्पष्ट पारिएको छ। साथै, आचारसंहिता उल्लंघन भएको थाहा पाए तुरुन्त जानकारी गराउन आम नागरिक र सरोकारवालालाई आग्रह गरिएको छ।
मतगणना प्रक्रियालाई पनि यसपटक छिटो र प्रभावकारी बनाउने तयारी गरिएको आयोगले जनाएको छ। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको २४ घण्टाभित्रै अन्तिम परिणाम घोषणा गर्ने लक्ष्य राखिएको छ। प्रविधिको प्रयोग र जनशक्ति व्यवस्थापनमार्फत परिणाम सार्वजनिक प्रक्रियालाई तीव्र बनाउने योजना अघि सारिएको छ।
कडा अनुशासन र द्रुत नतिजा सार्वजनिक गर्ने रणनीतिसहित यसपटकको निर्वाचन व्यवस्थित र उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।


