काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ।

करिब दुई तिहाइ बहुमतसहित उभिएको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने तयारी अघि बढाएको छ।
बालेनले आफ्नो अनुकूल साइतअनुसार चैत १३ गते, रामनवमी का दिन प्रधानमन्त्री पदको सपथ लिने योजना बनाएका छन्। उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ। स्रोतका अनुसार सपथको मिति निर्धारणमा तान्त्रिकको सुझावसमेत समावेश गरिएको बताइएको छ।

यसैबीच, बालेनले पछिल्लो समय तान्त्रिकको सल्लाहअनुसार कालो पहिरन प्रयोग गर्दै आएको दाबी गरिएको छ। चुनावी अभियानका क्रममा पनि उनले प्रायः कालो पोशाक र टोपी लगाउने गरेका थिए। सपथ ग्रहणका दिन उनले कस्तो पोशाक अपनाउने भन्ने विषय भने खुल्न बाँकी छ।

यद्यपि, यसअघि सार्वजनिक बिदाको दिन कुनै प्रधानमन्त्रीलाई सपथ नगराइएको भए पनि, बालेनको साइतलाई ध्यानमा राख्दै रामचन्द्र पौडेल ले सोही दिन सपथ गराउने अपेक्षा गरिएको छ।



