Lucky-Khabar_

स्वास्थ्यमा सुधार गर्नै पर्ने हो :मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हालेकी मन्त्री निशा मेहताले पदबहालीको दिन निर्णय सार्वजनिक गर्ने परम्परालाई यसपटक निरन्तरता दिइनन्। मन्त्रालयमा आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले आफ्नो प्राथमिकता स्पष्ट पार्दै स्वास्थ्य सेवामा जनताको पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताइन्।

content ad p2

नर्सिङ पृष्ठभूमिबाट आएकी मन्त्री मेहताले आम नागरिकले सहज रूपमा उपचार सेवा पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाइन्। “उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने मेरो मुख्य उद्देश्य हो,” उनले भनिन्।

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति विदेश पलायन हुनु ठूलो चुनौती बनेको उल्लेख गर्दै उनले चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई देशमै रोक्न प्रेरणादायी वातावरण आवश्यक रहेको बताइन्। पर्याप्त अवसर, पारिश्रमिक र कामप्रतिको सन्तुष्टि अभावका कारण स्वास्थ्यकर्मी विदेशिने क्रम बढिरहेको उनको भनाइ छ।

विशेषज्ञता हासिल गरेका नर्सहरूले समेत आफ्नो योग्यताअनुसार अवसर नपाएको अवस्थातर्फ संकेत गर्दै उनले यसलाई सुधार गर्न पहल गर्ने जनाइन्। साथै, स्वास्थ्यकर्मी सन्तुष्ट भए मात्र सेवाग्राहीले गुणस्तरीय सेवा पाउने उनले जोड दिइन्।

स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील भएकाले तत्काल निर्णयभन्दा पहिले समग्र अवस्था बुझ्ने आवश्यकतामा उनले जोड दिइन्। “पहिले मन्त्रालयका काम, समस्या र प्राथमिकता राम्ररी अध्ययन गर्छु, त्यसपछि मात्र निर्णय लिन्छु,” उनले भनिन्।

नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै उनले उपचारभन्दा रोकथाममा केन्द्रित हुने रणनीति अघि सारेकी छन्। रोग लाग्न नदिने उपायलाई प्राथमिकता दिनुपर्नेमा उनको विशेष जोड छ।

त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिद प्रक्रियालाई व्यवस्थित बनाउने र उपकरणहरूको मर्मत–सम्भारमा पर्याप्त ध्यान दिने पनि उनले बताइन्। नयाँ उपकरण खरिदमा मात्र जोड नदिई उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने आवश्यकता उनले औँल्याइन्।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर