काठमाडौं । अस्ट्रेलियाले नेपाली विद्यार्थीका लागि अध्ययन भिसा प्रक्रियामा कडाइ गरेपछि भिसा स्वीकृति दरमा उल्लेख्य गिरावट आएको छ। हाल सार्वजनिक भएका तथ्यांकअनुसार सन् २०२६ को सुरुआतदेखि नेपाली विद्यार्थीको भिसा स्वीकृति दर करिब २७ प्रतिशतमा झरेको छ।

अस्ट्रेलियाको गृह मन्त्रालयले नेपाललाई ‘एभिडेन्स लेभल ३’ अर्थात् उच्च जोखिम श्रेणीमा राखेपछि विद्यार्थी भिसा आवेदनमा थप कडा जाँच सुरु गरिएको हो। यसअघि नेपाल ‘एभिडेन्स लेभल २’ मा थियो। नयाँ व्यवस्था जनवरी ८, २०२६ देखि लागू गरिएको बताइएको छ।
यो निर्णयपछि नेपाली विद्यार्थीले अब थप विस्तृत आर्थिक स्रोत प्रमाण, प्रमाणित शैक्षिक कागजात, अंग्रेजी भाषा परीक्षणको विश्वसनीयता तथा ‘जेन्युइन स्टुडेन्ट’ (GS) विवरण पेश गर्नुपर्ने भएको छ। अस्ट्रेलियाली अधिकारीहरूले नक्कली बैंक स्टेटमेन्ट, फर्जी शैक्षिक प्रमाणपत्र र गैर–वास्तविक अध्ययन उद्देश्यका घटनामा वृद्धि भएपछि कडाइ गरिएको बताएका छन्।
नयाँ नीतिअनुसार भिसा प्रक्रिया पनि लामो हुने भएको छ। पहिले २ देखि ४ सातामा सकिने प्रक्रिया अहिले ४ देखि १२ सातासम्म लाग्न सक्ने बताइएको छ। साथै विद्यार्थीहरूले कम्तीमा पहिलो वर्षको शुल्क, बसाइ खर्च, स्वास्थ्य बीमा र यात्रा खर्चसमेत देखाउनुपर्नेछ।
अस्ट्रेलियाले नेपालसँगै भारत, बंगलादेश र भुटानलाई पनि उच्च जोखिम सूचीमा राखेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण एसियाली देशहरूबाट आउने आवेदनमा अहिले कडा निगरानी भइरहेको छ।
शिक्षा परामर्शदाता तथा आप्रवासन विज्ञहरूले भने वास्तविक विद्यार्थीका लागि अस्ट्रेलियाको ढोका अझै खुला रहेको बताएका छन्। तर अब कमजोर कागजात, अस्वाभाविक बैंक कारोबार वा अस्पष्ट अध्ययन योजनाले भिसा अस्वीकृत हुने सम्भावना धेरै बढेको उनीहरूको भनाइ छ।


