काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी ले राजनीतिक दलहरूबीचको सहकार्य नै देशको विकास र सुशासनको प्रमुख आधार भएको बताउनुभएको छ।

गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनमतको सम्मान गर्दै विकासका एजेन्डामा सबै राजनीतिक दलसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले रास्वपालाई प्राप्त जनादेश कुनै दलसँग द्वन्द्व गर्न नभई देशको मुहार फेर्ने अभियानका लागि भएको उल्लेख गर्नुभयो।

महामन्त्री बुर्लाकोटीले लामो समयदेखि अलपत्र रहेका विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष गरी गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकार अर्थ मन्त्रालयसँग गम्भीर छलफलमा रहेको जानकारी दिँदै उद्योग अब सरकारी वा निजी क्षेत्रको साझेदारीमा जसरी पनि सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्नुभयो। उद्योग सञ्चालनले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
त्यसैगरी, बूढीगण्डकी जलविद्युत् आयोजना लाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढाउन सरकारले ठोस तयारी गरिरहेको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा विनियोजित रकम तथा अधिकार सम्पन्न प्राधिकरण गठनको तयारीले आयोजनाको निर्माण कार्यले गति लिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले रेमिट्यान्समा मात्र आधारित अर्थतन्त्र दीर्घकालीन रूपमा दिगो नहुने उल्लेख गर्दै देशभित्र उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार केन्द्रित रहेको धारणा राख्नुभयो।
सम्बोधनका क्रममा महामन्त्री बुर्लाकोटीले सही दिशा र उद्देश्यसहितको राजनीतिबाट मात्र देशको समग्र विकास सम्भव हुने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट सुशासन, विकास निर्माण तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर ल्याइएको दाबी गर्दै उहाँले सोही लक्ष्य प्राप्तिका लागि सम्पूर्ण कार्यकर्ता तथा राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।


