काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने सरकारको निर्णयप्रति नागरिकको उल्लेखनीय चासो देखिएको छ। विभिन्न १३ मुलुकका लागि राजदूत पदमा आवेदन माग गरिएकामा झण्डै ४ हजार आवेदन दर्ता भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार करिब ३ हजार आवेदकबाट उक्त संख्यामा आवेदन परेको हो। कतिपय व्यक्तिले एकभन्दा बढी देशका लागि आवेदन दिएका छन् भने केहीले १० वटासम्म देशका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्।

परराष्ट्र मन्त्रालयले अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलियालगायत १३ देशका लागि जेठ १४ गते दरखास्त आह्वान गरेको थियो। सरकारले राजदूत नियुक्तिका लागि १५ बुँदे स्पष्ट मापदण्ड निर्धारण गरेको छ। जसअनुसार न्यूनतम स्नातक तह उत्तीर्ण, ३५ वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको तथा कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिबारे पर्याप्त ज्ञान भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, विदेशी नागरिकता वा स्थायी बसोबास अनुमति (पीआर) प्राप्त गरेका, नैतिक पतन देखिने फौजदारी मुद्दामा दोषी ठहरिएका तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू प्रतिस्पर्धाका लागि अयोग्य हुनेछन्।
मन्त्रालयले रीतपूर्वक प्राप्त आवेदनहरूलाई मात्र छनोट प्रक्रियामा समावेश गर्ने जनाएको छ। प्रारम्भिक सर्टलिस्ट तयार गरी योग्यता, अनुभव र उपयुक्तताका आधारमा थप मूल्याङ्कन गरिने बताइएको छ।
खुला आवेदन प्रणाली लागू भएसँगै अपेक्षाभन्दा धेरै आवेदन परेपछि मन्त्रालयले ‘टर्म्स अफ रिफरेन्स’ (टीओआर) अनुसार कडा स्क्रिनिङ प्रक्रिया अघि बढाउने तयारी गरेको छ। राजदूत पदको गरिमा, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिनिधित्वको संवेदनशीलतालाई ध्यानमा राख्दै छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाइने मन्त्रालयले जनाएको छ।


