Lucky-Khabar_

पर्साको पकहामैनपुरमा १६ लाखको बजेटमा विद्यालय भवन निर्माण सुरु

वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा नयाँ विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ। युवा नेता अकलेश साहको विशेष पहलमा मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित १६ लाख रुपैयाँ बजेटमार्फत भवन निर्माणको शिलान्यास गरिएको हो।

content ad p2

विद्यालय परिसरमा आयोजित शिलान्यास कार्यक्रममा वडा नं. ४ का अध्यक्ष ढेडी प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक उमेश यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपनारायण ठाकुर, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री बन्ने विश्वास व्यक्त गरे। भवन अभावका कारण विद्यार्थी र शिक्षकहरूले भोग्दै आएका समस्याको अन्त्य भई सहज र अनुकूल वातावरणमा पठनपाठन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। साथै, यसले गुणस्तरीय शिक्षामा विद्यार्थीहरूको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता अकलेश साहले शिक्षा क्षेत्रको विकास आफ्नो प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले विद्यालय, युवा तथा समुदायको समग्र विकासका लागि आगामी दिनमा पनि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यका सक्षम र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

स्थानीयवासीहरूले विद्यालय भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराएकोमा मधेश प्रदेश सरकार तथा पहलकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्दै गुणस्तरीय ढंगले काम गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।

१६ लाख रुपैयाँको लागतमा सुरु भएको यो भवन निर्माणलाई स्थानीय तहमा शिक्षा सुधार र भौतिक पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले थप सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न वातावरणमा शिक्षा हासिल गर्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

लक्की खबर