रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–४ नदिपारी टोलमा दिनदहाडै चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीय सुखाडी पटेल र चगनी पटेलको घरमा आइतबार रातको करिब २ बजे घरको पछाडिको भागबाट प्रवेश गरी अज्ञात व्यक्तिले नगद, सुन–चाँदीका गरगहना तथा जिन्सी सामान चोरी गरेको बताइएको छ।

पीडित परिवारका अनुसार चोरीमा करिब ६० हजार भारतीय रुपैयाँ, १ लाख नेपाली रुपैयाँ, सुनको मंगलसूत्र, चाँदीका गरगहना, लत्ताकपडा तथा अन्य जिन्सी सामान गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।त्यस्तै चोरले आफुलाई काम नलाग्ने लताकपडाहरु घर बाहिर तितरबितर गरि फालेको थिए |
स्थानीयका अनुसार पीडित सुखाडी पटेल र चगनी पटेल दुवै जना भारतको पञ्जाबमा रोजगारी गरेर हिजो मात्र घर फर्किएका थिए। उनीहरू घर आएको भोलिपल्टै यस्तो घटना भएपछि परिवार शोकमा परेको छ।
स्थानीय बासिन्दाले नदिपारी टोलमा यसअघि पनि पटक–पटक चोरीका घटना हुँदै आएको दाबी गर्दै प्रहरी गस्ती प्रभावकारी नभएको गुनासो गरेका छन्। उनीहरूले नियमित सुरक्षा गस्ती बढाई चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र पक्राउ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान र धनमालको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


